FAQs Complain Problems

समाचार

पर्यटकिय स्थलहरु

१. साधु टार

Nature

पाँचथरको फिदिम नगरपालिका ८ मा छ साधुटार । छोटो समयमा घुमघामका लागि उत्कृष्ट गन्तव्य साधुटारको विशेषता झनै गज्जबको छ । पहाडको टाकुरामा जमेको पोखरी । वरिपरि फाँटिलो चौर । अनि नीलो आकाश र पृष्ठभूमिमा रहेका कञ्चनजंघा र कुम्भकर्ण हिमशृंखलाको मनोरम दृश्य । बिहानीपख पोखरीभित्र टिलिक्क टल्किने नीलो आकाशको छाया अनि हिमालको प्रतिछाया । यी र यस्तै आकर्षणले यहाँ पुग्ने जो कोही पुलकित हुन्छन् । यहाँको पुगेका जो कोही मनोरम दृश्य कैद गर्दै फोटो खिच्ने, टिकटक बनाउने र म्युजिक भिडियो बनाउन लालयित देखिन्छन् । साधुटार पुग्न मेची राजमार्गको इलाम-फिदिम खण्डमा पर्ने पौवा भञ्ज्याङदेखि इथुङ हुँदै करिब तीन किलोमिटर भित्र कच्ची सडक भएर पुग्न सकिन्छ । साधुटार करिब चार वर्षदेखि चर्चामा आएको हो । आजकल यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन पाँचथरका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्मबाट घुम्न र वनभोज खान आन्तरिक पर्यटक आइपुग्छन् ।

२. लोहकिल

लोहकिल डाँडाबाट सूर्योदय र सूर्यास्त अत्यन्तै राम्रोसँग देख्न सकिने हुनाले गुराँसजस्तै यो दृश्यावलोकन पनि यहाँको अर्काे आकर्षण हो । यहाँबाट भारत र चीनको भू–भाग तथा हिमशृङ्खला पनि देख्न सकिने स्थानीयवासीको दाबी छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन । पाँचथरको फिदिम नगरपालिका–१४ र फाल्गुनन्द गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने यो स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले यहाँको विकास र स्थानीयको आयआर्जन अभिवृद्धिका लागि २०७२ कात्तिकबाट ‘सुकेपोखरी लोहकिल पर्यटन विकास मञ्च’ गठन गरी औपचारिक पहल थालिएको थियो ।